नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम माधव नेपाल पक्षले फेरेको छ । आयोगमा यसअघि नेपाल पक्षले नेकपा एमाले समाजवादी भनेर दर्ता गरेको पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।
आज (शुक्रबार)नेपाल पक्षले ‘एमाले’ शब्द हटाएर आयोगमा पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ दर्ता गरेको हो । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग निर्वाचन आयोग गएर पार्टीको नाम संशोधन गरेका हुन् ।
यद्यपि चुनाव चिन्हको विषयमा भने अझै टुंगो लागेको छैन । यसअघि ‘खुल्ला किताब’ चुनाव चिन्ह राखेको नेपाल पक्षले उक्त चिन्ह अर्को पार्टीसँग जुध्न गएपछि त्यसमा विवाद उत्पन्न भएको थियो । त्यस्तै नेपाल पक्षले केन्द्रीय सदस्यको संख्या ११५ पुर्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि नेपाल समूहलाई नयाँ पार्टी खोल्नको लागि बाटो खोलिएको थियो ।
सरकारले जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

