नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही गर्न नमिल्ने भनेपछि एमालेले उक्त निर्णयको विरोध गर्दै सभामुखको राजीनामा सहित प्रदेशसभा चल्न नदिने चेतावनी दिएको छ । लुम्बिनी प्रदेशसभाले नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया अमान्य ठहर आज(आइतबार) एमालेलाई पत्र पठाएको थियो।
एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा सांसदद्वयलाई कारबाही गरी पदमुक्त नगरेसम्म संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई कारबाही गर्ने निर्णय गरेको थियो । एमालेले कारबाहीको माग गर्दै उनीहरुलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्ती समक्ष पत्र दिएको थियो ।
त्यस्तै ढकालले प्रदेशसभा सचिवालयले पठाएको पत्रको विषयमा आपत्ति जनाउदै सभामुख घर्तीको राजीनामा मागेका छन् । ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिदैन ।’
‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ’ ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विज्ञप्तिमा ढकालले ‘जबसम्म निज बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौ’ भनेका छन् ।

