नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५१६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा एक हजार ७०२ र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार २४८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ । जसमा ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६८१ संक्रमित आईसीयूमा र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।