गठबन्धनले बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सार्ने, विश्वासको मत नलिँदै राजीनामा दिने तयारीमा अष्टलक्ष्मी

हतारमा माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य राजीनामा गर्ने मूडमा पुगेकी छन् । एमालेको समर्थनमा गत बुधबार मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनका कारण अत्यन्त अफ्ठेरोमा परेकी छन् । उनी मुख्यमन्त्री बनेकै दिनदेखि एमाले औपचारिक रुपमै विभाजन भएको थियो । माधव नेपाल समूहमा लामो समय काम गरेकी नेतृ शाक्य ओलीको कट्टर आलोचकको रूपमा चिनिन्थिन । पछिल्लो समय मुख्यमन्त्री पदकै लागि नेपालको साथ छोडेर ओली समूहमा पुगेकी शाक्य पछुताउन थालेकी छन्। पछिल्लो स्थितिमा उनले विश्वासको मत पाउने सम्भावना छैन ।

अब शाक्यसँग दुई वटा विकल्प मात्र बाँकी छन् । उनले आफ्नो सरकार टिकाइराख्नका लागि माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलको पक्षमा जानुपर्ने हुन्छ । कि त उनले मुख्यमन्त्रीबाट राजीनामा नै दिनुपर्छ । उनी एमालेमै बस्न चाहे प्रदेशसभा भित्र एमालेको बहुमत नपुग्ने पक्का छ । माधव नेपाल समूहका नेताहरूले आफ्नो पार्टीमा खुल्न दवाव दिइरहेका बेला उनी धर्मसंकटमा परेकी छन् ।



बागमती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ । बागमती प्रदेशसभामा यसअघिदेखि नै एमालेको ओली र नेपाल समूहबीच विवाद रहँदै आएको थियो । अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेका छन् । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हुन्छ ।

नेपाल समूहले भने अष्टलक्ष्मी आफ्नो पार्टीमा नआएको खण्डमा उनलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने तयारी थालिएको हो। लामो समयदेखि नेपाल पक्षमा रहेकी शाक्य पछिल्लो समयमा पार्टीभित्रको विवाद समाधानका लागि भन्दै तेस्रो धारमा पुगेकी छिन् । एमाले अध्यक्ष ओलीको निर्देशनपछि डोरमणि पौडेलले मुख्यमन्त्री राजीनामा दिएर शाक्यलाई प्रस्ताव गरेका थिए । एमालेभित्रको समस्याको कारण शाक्य मुख्यमन्त्री बनेदेखि नै उनको कार्यकाल कति समयको हुने भन्ने विषयमा प्रश्न उठ्ने अवस्था आएको छ ।

सम्बन्धित समाचार