नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदाै ।

नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन तीव्र भएको छ । भारतीय सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष तहका नेताहरु केहीदिनदेखि काठमाडौंमै छन् । उनीहरुमध्ये भाजपाको विदेश विभागका प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटघाट प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको छैन । भेटमा दुई देशबीचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको बताइएको छ । चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवाले सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएको बताइन्छ ।
प्रधानमन्त्री नियुक्ति भएर संसदमा विश्वासको मत लिएपछि मात्रै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई औपचारिक बधाई दिएका थिए । विगतका परम्पराझै हालसम्म प्रधानमन्त्री देउवाले भारत भ्रमणको निम्तोसम्म पाएका छैनन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको र एमाले विभाजित भएको अवस्थामा भारतीय नेताहरुको दौडधुपलाई चासोका साथ हेरिएको छ । भाजपाका वरिष्ठ नेतामध्येका एक डा दिनेश उपाध्याय पनि केही दिनदेखि काठमाडौंमा छन् । भाजपा निकट सूत्रका अनुसार नेपालमा केहीदिनमै राजनीतिक उतारचढावको सम्भावना छ ।

