नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदाै ।

प्रदेश १ को मुख्यमन्त्रीका लागि आफूलाई सहयोग गर्न एमाले सचिव भीम आचार्यले माधवकुमार नेपाल सामु गरेको आग्रह नेता नेपालले अस्वीकार गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रदेश १ को मुख्यमन्त्री बन्न हच्किएका आचार्य उक्त पद प्राप्तिका लागि नेपालको सहयोग माग्नका लागि शनिबार बिहान नेपालको कोटेश्वरस्थित निवास नै पुगेका थिए। तर, उनलाई सघाउने विषय अहिले सम्भव नरहेको जवाफ नेता नेपालले दिएका थिए ।
पार्टी विभाजन प्रक्रिया सुरू भएपछि नेपालको साथ छाडेका आचार्यले नेता नेपाललाई भेटेर सहयोग गर्न आग्रह गरेका हुन्। प्रदेश १ मा माधव नेपाल पक्षले मुख्यमन्त्री पाउने सम्भावना बढेको छ। त्यसैले नेता आचार्यले नेपालको सहयोग खोजेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धनको सहयोग भएपछि एमालेका आठ जनामात्रै सांसद भए पनि नयाँ सरकार बनाउन प्रदेशमा संख्या पुग्छ। नेपाल पक्षले आफूसँग १५ जना सांसद रहेको र यो संख्या बढेर १८ पुग्ने दाबी गर्दै आएको छ। प्रदेशको विपक्षी गठबन्धनले भने नेपाल पक्षका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरिरहेको छ।

