नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।

माधवकुमार नेपालको साथ छोडेका तेस्रो तहका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सम्पन्न भएको छ । आज(सोमबार) भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र भोलि (मंगलबार) स्थायी समिति बैठक बोलाइने निर्णय भएको हो ।
भोलि हुने बैठकमा तेस्रो तहका नेताहरुको पनि सहभागीता हुने जनाइएको छ । यस अघि ओलीलाई भेट्न भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका नेताहरु ओली निवास बालकोट गएका थिए । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन दिइएको छ । यस विषय भोलि बस्ने भनिएको स्थायी समिति बैठकमा पेश हुनेछ ।
तेस्रो तहका नेताहरुले ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । तर, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सकिने भए पनि १४ सांसदमाथि गरिएको कारबाही फिर्ता नहुने जवाफ फर्काएका छन् ।
एमालेभित्रको अन्तरसंघर्षमा नेता नेपाललाई साथ दिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्तलगायतका नेताहरूले नयाँ दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका थिएनन् ।

