नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।

माधवकुमार नेपालले एमाले विभाजित गरेर नेकपा (एकीकृत समाजवादी) बनाउने निर्णय गरेसँगै चन्द्रागिरि रिसोर्टमा सोमबार रातिदेखि पूर्वतयारी बैठक राखेका छन्। निर्वाचन आयोगमा प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरुलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राति ब्रिफिङ गरेका छन्।
उनले पार्टीको घोषणा पत्र र अन्तरिम विधान रिसोर्टमा उपस्थित भएका नेताहरुलाई वितरण गरेका छन्। त्यसक्रममा उनले आफैंले स्थापना गरेको एमाले अब कम्युनिष्ट पार्टी नरहेको पनि घोषणा गरे। सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामन्तवादीको नेताको पनि संज्ञा दिए। नेपाल पक्षले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि हुने सनाखत अघि केन्द्रीय सदस्य र सांसदहरुलाई चन्द्रागिरि रिसोर्टमा जम्मा गरेको हो।
सोमबार रातिसम्म निर्वाचन आयोगले मान्यता दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ४६ जना उपस्थित भएका छन्। बाँकी सातदेखि नौजना केन्द्रीय सदस्यहरु आज दिउँसोसम्म चन्द्रागिरि पुग्ने जानकारी प्रस्तावित पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले दिएका छन्।
ती ४६ केन्द्रीय सदस्यमा ३२ जना सांसद पनि रहेका नेता साहले जानकारी दिएका छन्। चन्द्रागिरि पुगेका ४६ जना केन्द्रीय सदस्य ०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येका हुन्। नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ जना केन्द्रीय सदस्य या ३१ जना सांसद भए पुग्छ। नेताहरु प्रदीप नेपाल र खगेन्द्र चुँडाल बिरामी भएका कारण आज उपस्थित हुन नसकेको जानकारी साहले दिए।
बुधबार निर्वाचन आयोगमा हुने सनाखतका क्रममा नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत वारिसनामा पठाउने भएका छन्। चुँडाल र नेपाल पनि बुधबार सिधै निर्वाचन आयोगमा आउने जानकारी साहले दिएका छन्।

