महाअभियोगको डरले माधवलाई प्रधानमन्त्रीको अफर, एमाले र ठाकुर पक्ष मिले देउवा सरकार ढल्ने हिसाब

'चन्द्रागिरी चढ्ने आँट नभएपछि बालकोटको टाङ प्यारो'

नेकपा एमालेभित्र लामो समयदेखिको जारी विवादले विभाजनको स्पष्ट रेखा कोरेपछि आ–आफ्नै स्वार्थबमोजिम विभिन्न शक्तिहरूले चलखेल बढाएका छन् । वरिष्ठ नेता माधव नेपालले नयाँ नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा लागेपछि बालकोट र शीतलनिवास छुट्टाछुट्टै रूपमा नेता नेपाललाई रोक्न लागेका छन् । त्यसैगरी नेता नेपालसँग असन्तुष्ट बनेर तेस्रो धारको रूपमा अगाडि बढेका नेताहरू पनि एमाले अध्यक्ष केपी ओली सच्चिएको र १० बुँदे सहमति कार्यन्वयन गर्न तयार भएको बाहनामा एमालेमै रहने निष्कर्षमा पुगेका छन् ।

एमाले विभाजित गरेर नेकपा (एकीकृत समाजवादी) बनाउने निर्णय गरेसँगै केपी ओलीले विभिन्न चलखेल गर्न थालेको भन्दै नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसद्लाई चन्द्रागिरी रिसोर्टमा राखेका छन् । निर्वाचन आयोगले बुधबार सनाखतको लागि सांसद् र केन्द्रीय सदस्यहरूलाई बोलाएकोले यो टोली चन्द्रगिरीबाट सोझै आयोग जाने भएको छ । प्रस्तावित नयाँ पार्टीको पक्षमा लागेका केन्द्रीय सदस्य र सांसदहरूलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार राती ब्रिफिङ गरेका थिए ।



सोमबार रातिसम्म निर्वाचन आयोगले मान्यता दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्यमा ५६ जना नयाँ पार्टीको पक्षमा उभिएका छन् । ती मध्ये ३२ जना सांसद् रहेको बताइन्छ । यो संख्या भोलिसम्म केही बढ्ने नेपाल पक्षको विश्वास छ । यसरी हेर्दा ओलीसँग ८० देखि ८५ सांसद् बाँकी रहने हिसाव सत्ता गडबन्धनले गरेको छ । ओलीसँग ८५ भन्दा कम सांसद् रहनु नै आफूहरूको पक्षमा दुई तिहाइ मत पुग्ने सुनिश्चित हुनेमा सत्ता गठबन्धन ढुक्क देखिन्छ ।

राष्ट्रपतिलाई महाअभियोगको चिन्ता, नेपाललाई प्रधानमन्त्री अफर
नेकपा एमालेको विभाजनको प्रत्यक्ष असर राष्ट्रपति विद्या भण्डारीमा पनि पर्ने देखिएको छ । माधव नेपालको पार्टीमा ३५ सांसद् गएको खण्डमा सत्ता गठबन्धनमा स्ष्पष्ट २ तिहाई मत पुग्दछ । दुई तिहाइ मत भएपछि राष्ट्रपतिलाई महाअभियोग लगाउन पर्याप्त हुनेछ । यो विषयमा शीतल निवास जानकार नहुने कुरै भएन । त्यसैले पनि हिजो राष्ट्रपति भण्डारीले माधव नेपाललाई नयाँ दल खोल्नपट्टि नलागेर प्रधानमन्त्री बन्ने तयारी गर्न आग्रह गरेकी थिइन् । महन्थ ठाकुर पक्ष जसपाबाट फुटेको र एमाले एक भएको अवस्थामा ठाकुर पक्षको सार्थनमा बहुमत जुटाउन सकिने हिसाब शीतलनिवासले नेता नेपाललाई सुनाएको स्रोतको दाबी छ ।

देउवा सरकार ढल्ने र महन्थको पार्टी र एमाले मिलेर सरकार बनाउने वातावरण बन्नेनित्तिकै ठाकुरको पक्षमा रहेका १२ सांसद्को संख्या बढेर २० सम्म पुग्ने विषय नेता नेपाललाई जानकारी गराइएको थियो तर नेता नेपाले आफू नयाँ दल दर्ताको प्रक्रियामा अगाडि बढिसकेकोले ब्याक नहुने बताएपछि शीतलनिवास निराश बनेको थियो । लगत्तै बालकोटमा असन्तुष्ट नेताहरूलाई एमालेमै तानेर सत्ता गठबन्धनलाई दुई तिहाई पुग्न नदिने कुटिल मनसायका साथ ओली १० बुँदे सहमति कार्यन्वयन गर्न तयार भएको स्रोतको दाबी छ ।

चन्द्रागिरी चढ्ने आँट नभएपछि बालकोटको टाङ प्यारो
प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर चन्द्रगिरी पुगेका नेता नेपालले १० बुँदे सहमति जालझेलमात्र भएको भन्दै दोस्रो तहका नेताहरू ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरू पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो । नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएको भन्दै त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए ।

चन्द्रागिरी चढ्न आँट चाहिने भन्दै नेता नेपालले आँट नभएकाहरू बलकोटको टाङमुनी पुगेको आरोप लगाएका छन् । केपी ओली र नेकपा एमालेबाट देश र जनताको पक्षमा कुनै काम हुन नसक्ने भएकोले नयाँ पार्टी गठन गर्नुपरेको नेपालको भनाइ थियो । आफूनिकट नेताहरूलाई आज चन्द्रागिरीमै थप प्रशिक्षण दिएर भोलि सनाखतको लागि आयोग जाने तयारीमा नेपाल समूह जुटेको छ ।

सम्बन्धित समाचार