नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदाै ।

एमालेबाट अलग्गिएको माधव नेपाल पक्ष र जसपाबाट छुट्टिएको महन्थ ठाकुर समूहका निवेदनअनुसार नयाँ दल दर्ता गर्नुअघि निर्वाचन आयोगले संसद् सचिवालयबाट ती दलका सांसदको विवरण लिएको छ। आयोगको मागअनुसार संसद् सचिवालयले एमालेका १ सय ५४ जना सांसदको नाम पठाएको छ। प्रतिनिधि सभातर्फ १ सय २१ र राष्ट्रिय सभातर्फ ३३ सांसदको सूची संसद् सचिवालयले आयोगको कार्यालयमा बुझाएको हो।
यस्तै संसद् सचिवालयले जसपाका प्रतिनिधि सभातर्फ ३२ र राष्ट्रिय सभातर्फ ३ गरी ३५ सांसदको सूची आयोगलाई दिएको छ।भदौ १ गते एमालेले माधव नेपालसहित उनी पक्षका १४ सांसदलाई कारबाही गर्दै उनीहरूलाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाएको छ। तर संसद् सचिवालयले अहिलेसम्म यस विषयमा निर्णय सार्वजनिक गरेको छैन।
यो विषय विचारधीन नै रहेको जानकारी संसद सचिवालयले निर्वाचन आयोगलाई गराएको छ। संसद् सचिवालयले आयोगलाई पठाएको पत्रमा लेखिएको छ, ‘०७८-०५-०१ मा दल त्यागसम्बन्धी सूचनाको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको एवं बोधार्थ निर्वाचन आयोगलाई समेत दिइएको देखिएको छ। उक्त विषय नियमानुसार विचाराधीन नै छ।’
आफ्नो पत्रबमोजिम ती १४ सांसदलाई तुरुन्त पदबाट हटाउन एमालेले सभामुख अग्नि सापकोटालाई निरन्तर दबाब दिइरहेको छ। यस क्रममा एमाले सांसद टोलीले सभामुख कार्यकक्षमै गएर चर्काचर्की गर्नेदेखि धर्ना दिनेसम्म गरिसकेको छ।

