नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदाै ।

नेपाली कांग्रेसको संस्थापन इतर समूह छुट्टै छलफलमा जुटेको छ। पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका हुन्। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डाक्टर शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित छन्।
कार्यतालिकाअनुसार भदौ १८ बाट हुने भनिएको वडा अधिवेशनका विषयमा निर्वाचन समितिले गरेको तयारीबारे पौडेल समूहले ब्रिफ्रिङ लिन लागेको जनाएको छ। उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए ।
बैठकमा वरिष्ठ नेता पौडेलले क्रियाशील विवाद समितिले बुझाएको प्रतिवेदनबारे नेताहरूलाई जानकारी गराउनेछन्। यस्तै क्रियाशील सदस्यतालाई लिएर धर्नामा रहेका जिल्ला सभापतिहरूको आन्दोलन कसरी सशक्त बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

