किन गए एमाले नेता सभामुखको कार्यकक्षमा ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीले कारवाही गरेका १४ जना सांसद पदमुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् । आज (बुधबार) सभामुखको कार्यालय सिंहदरबारमा एमाले सांसदहरु कारबाहीको विषयमा सोध्न आएको एक नेताले बताए ।

सभामुखलाई एमाले नेताहरुले सांसदहरुलाई पदमुक्त गरेको सूचना टाँस गर्न दबाब दिँदै आएका छन् । एमालेका सचेतक शान्ता चौधरी, खगराज अधिकारी, सूर्य पाठक, विद्या भट्टराईलगायत नेताहरु सभामुखको कार्यकक्षमा पुगेका हुन् । तर, मंगलबार दाँतको सर्जरी गरेका उनी निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । यसअघि पनि एमाले नेताले सभामुखको च्याम्बर घेराउ गर्दै दबाब दिएका थिए ।



पार्टीको तर्फबाट कारबाही गरिएको लिखित जानकारी गराएको ४८ घण्टा बित्न लाग्दासमेत सूची टाँस नभएकाले गत बिहिबार एमालेले सभामुख सापकोटालाई भेटेर ध्यानाकर्षण गराएको थियो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को नियम ३५ को उपनियम ३४ ले सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले संसद चलेको भए सदनमा जानकारी गराउने नभए सूचना टाँस गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दिएको थियो।

सम्बन्धित समाचार