प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले राजीनामा दिने, आजै भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

नेकपा एमालेको प्रदेश १ संसदीय दलले बैठक आज बस्दैछ । पार्टी विभाजनपछि पहिलो पटक बस्न लागेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने भएका छन् । राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई विहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकिएको छ । तर हतारमा संसदीय दलको बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले संसदीय दलको बैठक बोलाउनु राजनीतक र नैतिक रुपले गलत भएको बताए ।



बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावना पनि रहेको एमाले स्रोतले बतायो । प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नयाँ नेता छनोट गर्न सक्ने बताए । एमालेसँग बहुमत रहेको बताउँदै उनले ठूलो दलको हैसियतमा सरकारमा रहने बताए ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन् । एमालेका ५१ सदस्य छन् । ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद् रहने केन्द्रीय सदस्य राजेन्द्र राई बताउँछन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमाले सरकार ढालेर गठबन्धनमा सरकार बनाउन ८-९ जनाको संख्या थप भए पुग्छ ।

भीम आचार्य एमालेमा रहँदा उनीसँग २-३ जना सांसद जान सक्ने माधव पक्षको आकलन छ । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १र१ जना सांसद छन् । ठूलो दलको हैसियतले मुख्यमन्त्री बने पनि आचार्यले विश्वासको मत पाउने सम्भावना भने देखिँदैन ।

सम्बन्धित समाचार