नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदाै ।

नेकपा एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकी कार्यकाल सुनिश्चित गरेका छन् । यसअघि एमाले एक भए अल्पमतमा पर्ने र राजीनामा दिनुपर्ने भयका कारण देउवाले माधव पक्षलाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश नै ल्याइदिएका थिए । माधव नेपालको पार्टीले निर्वाचन आयोगमा मान्यता पाएसँगै सत्ता गठबन्धनले सरकारलाई पूर्णता दिने भएको छ । हिजो राती आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएसँगै देउवाले माधव नेपालसँग मन्त्रीको नाम मागिसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई पनि मन्त्रीको नामावली दिन देउवाले ताकेता गरेका छन् । हिजैमात्र आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र पाएको लोसपा पनि सरकारमा जान चाहेकोले देउवाले आज गठबन्धनका शीर्ष नेताहरूसँग बसेर मन्त्रालय भगवण्डामा पुर्नविचार गर्ने भएका छन् । यसअघि कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय र माओवादी, एकीकृत समाजवादी र जसपालाई समान ६–६ मन्त्रालय पाउने गरी भागवण्डा गरिएको थियो । अब भने यी चारै दलले एक एक मन्त्रालय घटाएर भएपनि लोसपालाई पनि सरकारमा सहभागी गराउने योजनामा देउवा रहेको बुझिएको छ ।
देउवा र प्रचण्डको स्वार्थले फुट्यो एमाले
माधव नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएसँगै नेकपा एमाले औपचारिक रूपमै फुटेको छ । फुटपछि पनि एमाले संस्थापन पक्ष संसद्मा ठूलो दलको हैसियतमै छ भने माधव नेपालको पार्टी चौथो दल बन्न सफल भएको छ । यसअघि संसद्मा चौथो शक्ति रहेको जसपा भने पाँचौं शक्ति हुन पुगेको छ ।
नेपालमा राजनीतिक दलहरूबीच टुटफुटको श्रृङ्खला चलि नै रहने भएकोले एमालेको फुटलाई अस्वभाविक रूपमा लिइएको छैन । यद्दपि पछिल्लो राजनीतिक शक्ति सन्तुलनलाई हेर्दा प्रधानमन्त्री देउवा र प्रचण्डको स्वार्थले गर्दा एमाले फुटेको सहजै अनुमान लगाउन सकिन्छ । केपी ओलीलाई हटाएर गठबन्धनको सहारामा प्रधानमन्त्री बनेका देउवालाई पदमा टिकिरहन सहज थिएन । त्यसैले पनि उनी एमाले फुटाएर आफूनिकटका माधव नेपाललाई सरकारमा सामेल गराई आफ्नो बाँकी कार्यकाल सुनिश्चित गर्ने योजनामा थिए । साथै ठूलो दलमा फुट आएपछि दोस्रो ठूलो दललाई निर्वाचनमा पनि सहज हुने हुँदा एमाले फुटाउन देउवाले न्वारानदेखिको बल लगाएको देखियो ।
त्यसैगरी गत निर्वाचनमा ओलीसँग मिलेर एकता र स्थायित्वको नारा दिएर जनताको मत हासिल गरेका प्रचण्ड पनि ओलीकै कारण नेकपा फुटेको भन्दै उनीसँग बदला लिने सोचमा थिए । ओलीलाई सरकारबाट हटाउन कम्मर कसेर लागि परेका प्रचण्ड एमाले फुटाउन पनि कम्मर कसेरै लागेको देखियो । फलतः देउवा र प्रचण्डको योजनामुताविक नै अध्यादेश ल्याएर एमाले फुटाइयो ।
माधवको दाउ अर्कै
ओलीको लगातारको पेलान सहेर एमालेमा रहेका नेपालले माओवादी केन्द्रसँग एकता भएर नेकपा गठन भएपछि थोरै भएपनि राहतको सास फेरेको थिए । प्रचण्डसँग उनको सहकार्य भने ओलीको लागि टाउको दुखाइको विषय बनेको थियो । अन्ततः अनेक आरोह अवरोह पार गर्दै सर्वोच्चको आदेश बमोजिम नेकपा विभाजन भयो र एमाले र माओवादी केन्द्र अस्थित्वमा आयो । त्यसपछि फेरि सुरू भयो नेपालप्रति ओलीको पेलान ।
त्यसो त ओलीकै व्यवहारको कारण देउवा प्रचण्ड माधव नेपाल एकठाउँमा आउने वातावरण बनेको थियो । त्यसमा पनि नेकपा विभाजन भएपछि किनारमा रहेका कम्युनिष्ट पार्टीहरू पनि ध्रुुवीकरणको दिशामा अगाडि बढेका थिए । यसबीचमा पूर्वमाओवादी घटक विप्लवदेखि मोहन बैद्यसम्मले कम्युनिष्ट एकताको चाहना व्यक्त गरेका थिए । यस विषयमा माधव, प्रचण्ड र उपेन्द्र यादवसम्म सम्भावनाको खोजीमा लागेका थिए । माधवलाई एउटा लोभ ओलीबाहेकको कम्युनिष्ट एकता गर्ने र ओलीसँग बदला लिने भन्ने पनि पलाएको थियो । त्यसैले पनि नेता नेपालले एमाले फुटाउन धेरै सोचेनन् । अब कम्युनिष्ट एकताको बहस चलाउने र एकाध महिनामैं देशकै ठूलो दल बन्ने गरी कम्युनिष्ट एकता गर्ने अभिलाषा माधवमा देखिन्छ । त्यस्तै अभिलाषा पूर्वमाओवादी घटकमा पनि देखिएकोले उनीहरूको कम्युनिष्ट एकताको योजना पूरा नहोला भन्न सकिँदैन ।।

