केही व्यक्ति थाकेर केपी ओलीतिर लागे : माधव नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही व्यक्ति थाकेर केपी ओलीतिर लागेको बताएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि बिहिबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । नेपाले गत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको बताए ।

त्यस्तै नेपालले गलत प्रवृत्ति, विचार र मूल्यका विरुद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताए । पूर्व प्रधानमन्त्री नेपालले एमालेको नेतृत्वले विधि, विधानको कुनै पालना नगरेको जनाउँदै विद्रोह गर्नुपरेको स्पष्ट गरे । नेपालले भने ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सबै मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि, ओली व्यक्तिवादको घोडामा सवार भएपछि, पार्टीलाई आफ्नो निजी कम्पनी जस्तो ठानेपछि, हामीहरुलाई कारबाही गरी पार्टीबाट निष्कासित गरेपछि हामीसँग विद्रोह गर्नुको विकल्प भएन’



नेपालले क्रान्तिकारी योद्धाहरूलाई ओलीले पार्टीबाट निष्कासन गरेको दाबी गर्दै दक्षिणपन्थी भासमा पसिसकेको ओली समूहबाट विद्रोह गर्न आह्वान गरे । यस्तै नेपालले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिदै प्रतिनिधि सभा दुईपटक विघटन गर्ने किर्तिमान बनाएको बताए ।

सम्बन्धित समाचार