नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदाै ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।
आफू पक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर गरेको रिले अनसन र १४ औं महाधिवेशनका विषयमा छलफल भइरहेको बताइएको छ । साथै महाधिवेशनमा पौडेल पक्षको तर्फबाट एकल उम्मेद्वारको तय गर्ने विषयमा पनि आज छलफल हुने भएको छ । जिल्ला सभापतिहरूले १४ औँ महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।
कांग्रेसले विहीबार मात्र ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका थिए ।

