नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदाै ।

ओली नेतृत्वको एमाले सिद्धान्तच्युत भएको ठहर गर्दै नेकपा एमालेको सिङ्गो कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । एमाले विवादका बेला रुपन्देहीमा नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर पार्टी गतिविधि गर्दै आएको थियो । उक्त सिङ्गो कमिटी नै समाहित भएको हो।
समानान्तर जिल्ला कमिटी रूपन्देहीले नवगठित नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने सर्वसम्मत रूपमा निर्णय गरेको छ। शुक्रबार उक्त कमिटीको बुटवलमा बसेको बैठकले नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।
केपी ओलीको नेतृत्वको एमाले वैचारिक, राजनीतिक रूपमा सिद्धान्तच्युत भएको ठहर गर्दै नयाँ पार्टी गठन अपरिहार्य भएको भन्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको कमिटीका अध्यक्ष राजु गुरुङले बताए।
नेकपा एमाले विभाजनका सन्दर्भमा छलफल गरी प्राप्त भएका सुझावका आधारमा सर्वसम्मतले समाजवादीमा समाहित हुने निर्णयमा गरिएको समानान्तर कमिटीका उपसचिव सिद्धिचरण भट्टराईले बताए ।
बैठकलाई नेताहरु नन्दिकेशर ढकाल, पार्टी एकता राष्ट्रिय अभियानका सचिव भोजबहादुर खडका, रामबहादुर चौहान, पुरूषोत्तम घिमिरेलगायतले सम्बोधन गर्दै ओलीकै कारण पार्टी विभाजन भएको आरोप लगाएका थिए।

