नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदाै ।

नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपालले आफूलाई साथ छाडेका दोस्रो तहका नेताहरुले दुई वटा पार्टी दर्ता गराएको खुलासा गरेका छन् । आफूले पदका लागि कहिल्यै पनि लडाईं नगरेको स्पष्ट पार्दै दोस्रो पुस्ताको नेताहरु तयार भए आफू नेतृत्व हस्तान्तरण गर्न तयार भएको समेत बताए।
अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु। आउनुहोस्, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस्। म अध्यक्ष पदबाट राजीनामा दिन तयार छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु, भएन ? पदको लडाईं होईन, यो। विचारको लडाईं हो, यो। सिद्धान्तको लडाईं हो यो। मूल्य र मान्यताको लडाईं हो यो।’
केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको उनको तर्क छ। आफूविरुद्ध कुप्रचार भईरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। ‘खाली कुप्रचार बाहेक केही पनि छैन। यस्ता झूटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्। उनीहरुको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो। मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो। यस्ता प्रवृत्ति भएका मान्छेहरु इमान्दार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन ?’ नेता नेपालले भने।
समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि उनले बताए। सो अभियानमा पदलोलुप नभई काम गर्न पनि उनले निर्देशन दिए।

