नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदाै ।

नेकपा एमाले विवादमा माधव नेपाल समूहमा रहँदै आएका र विभाजनमा अध्यक्ष केपी ओली खेमामा रहेर मुख्यमन्त्री बनेका भीम आचार्यले मन्त्रीमण्डललाई पूर्णता दिन नपाउँदै पद धरापमा परेको छ । प्रदेश १ का का १० जना एमाले सांसदले शुक्रबार आफूहरू नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरे सँगै प्रदेश सरकार धर्मराउने अवस्थामा पुगेको हो ।
एमालेमा छँदा माधव नेपाल समूहमा रहेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नयाँ दल रोज्ने निर्णय गरेका हुन्।
निर्वाचन आयोगमा निवेदन नदिएसम्म उनीहरू तटस्थ बस्न खोजेका छन्। विराटनगरमा शुक्रबार साँझ भएको उनीहरूको बैठकले निर्वाचन आयोगमा आउँदो मंगलबार समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेका छन्। ‘हामी १० जना भेला भएर यस्तो निर्णय गरेका छौं,’ बैठकमा सहभागीमध्येका एक सांसदले भने, ‘अब मंगलबार निर्वाचन आयोगमा सनाखतका लागि निवेदन दिनेछौं।’
यदि यी दसै जना सांसद आफ्नो निर्णयमा अडिग रहे र पाँच दलीय गठबन्धनमा यसबीचमा आश्चर्यजनक दरार नआए आचार्य नेतृत्वमा भर्खरै बनेको सरकार ढल्ने निश्चित भएको छ। विपक्षी गठबन्धनका नेताहरूले अहिलेको सरकार ढाल्ने र नयाँ बनाउने तयारी सुरू भइसकेको बताएका छन्।

