नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदाै ।

सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। माओवादीले ६ मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ५–५ मन्त्री र एक राज्यमन्त्री पाउने गरी सहमति जुटेको एक नेताले जानकारी दिए।
मन्त्रालयको बाँडफाँडमा सहमति जुटेसँगै दलहरु मन्त्री छान्न केन्द्रित बनेका छन्। यसअघि कांग्रेसले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेको छ। अब कांग्रेसले ५ मन्त्री बनाउन पाउनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा मन्त्रालयको भागबण्डामा समेत करिब सहमति जुटाएका छन्। एक नेताका अनुसार देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र नेता कृष्ण प्रसाद सिटौलालाई एक–एक मन्त्री दिने तयारी गरेका छन्।
यसअघि दुई मन्त्री र एक राज्यमन्त्री बनाइसकेका देउवाले आफ्नो समूहबाट थप दुई जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यसमध्ये पुष्पा भुसाल मन्त्री बन्ने पक्का जस्तै छ। वरिष्ठ नेता पौडेलले भने दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने तयारी गरेका छन्। कोइरालाको कोटाबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको चर्चा छ। तर, देउवाले आफ्नो क्याविनेटमा उपप्रधानमन्त्री नबनाउने अडान लिएका छन्। जसका कारण रिजालको मन्त्री बन्ने सम्भावना धेरै छ। नेता सिटौलाले भने उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी गरेका छन्।

