नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।

सुदूरपश्चिम प्रदेशसभाका १० सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराएका छन् । एमालेका २५ सांसदमध्ये १० जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान लागेका हुन् ।
आज (मंगलबार)सांसदहरुले सुदूरपश्चिमको निर्वाचन आयोगको कार्यालयमा गयेर सनाखत गराएका छन् । यसअघि १३ जना सनाखत गराउन निर्वाचन आयोग पुगे पनि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ ।
सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् ।
निर्वाचन आयोगले सनाखतका लागि २२ गतेसम्मको समय दिएको थियो। सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ सांसद छन् । यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर जाने निर्णय गरेका थिए ।

