पहिलो महिला मुख्यमन्त्री दुई सातामै अल्पमतमा, विश्वासको मत नलिँदै राजीनामा दिने तयारी

नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद सत्तारोहणको दुई सातामै संकटमा परेको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बहुमत गुमाएसँगै मुख्यमन्त्री शाक्यको पद संकटमा परेको हो। आज एमालेबाट निर्वाचित १२ सांसदले आधिकारिक रुपमा एमाले त्यागेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि प्रदेशसभामा एमालेले बहुमत गुमाएको छ। भदौ २ गते मात्रै शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन्। पार्टी फुट्नै लाग्दा मुख्यमन्त्री बनेकी शाक्यलाई अब पद जोगाउन मुस्किल छ।

एकसय ९ सांसद रहेको बागमती प्रदेशमा सरकार गठनको लागि ५५ सांसद आवश्यक पर्छ। ५६ सांसदसहित एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो। तर मंगलबार १२ सांसदले नयाँ दल रोजेसँगै एमाले अल्पमतमा झरेको छ। योसँगै प्रदेशमा पनि एमाले आधिकारिक रुपमा फुटेको छ। अब निर्वाचन आयोगले संसदलाई पार्टी विभाजन भएको जानकारी गराएको ३० दिनभित्र मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत लिनुपर्छ। दल रोज्ने समय भदौ २२ गतेसम्म भएकाले अझै केही सांसदले दल रोज्न सक्ने छन्।



आयोगले संसदलाई दल विभानसम्बन्धी आधिकारिक रुपमा जानकारी गराएको भोलिपल्ट २३ गते संसदले एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेका सांसदको बारेमा सुचना निकाल्ने छ। त्यसपछि गणितीय रुपमा अल्पमतमा परिसकेको वर्तमान सरकार कानुनी रुपमा पनि अल्पमतमा पर्नेछ। मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत नपाउने प्रायः निश्चित छ। शाक्यलाई माओवादी, कांग्रेस र समाजवादी बाहेकको अन्य सबै साना दलले मत दिँदा पनि पुग्ने देखिँदैन।

हाल एमाले छोडेर समाजवादीमा गएका १२, माओवादीको २३ र कांग्रेसको २२ गरी ५७ जना सांसद हुन्छन्। एमालेमा बाँकी रहेका ४४ सांसद, विवेकशील साझाको ३, राप्रपा तथा नेमकिपाको २,२ र एक स्वतन्त्र सांसदले शाक्यलाई मत दिए पनि जम्मा ५२ मात्रै हुन्छन्। जुन सरकार गठनका लागि पर्याप्त हुँदैन। विवेकशील साझाले कांग्रेससहितको गठबन्धनलाई साथ दिने जनाइसकेको छ। विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत नलिँदै राजीनामा दिने तयारी गरेको स्रोतले बतायो ।

सम्बन्धित समाचार