नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (बुधबार) काठमाडौं आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने,‘ ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’ त्यस्तै उनले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गरे । गुरुङले भने, ‘एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्छु । यसले पार्टीमा सबैले अवसर पाउँछन् ।’
सभापति बनेर सरकारको नेतृत्व गर्ने अवसर पाए ६ महिनाभित्र भ्रष्टाचारमुक्त देश बनाउन पहल गर्ने गुरुङको भनाइ थियो । ‘समानुपातिक सांसद एकपटक मात्र बन्न पाउने, दुई पटकमात्र मन्त्री हुन पाउने, दुई पटकमात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था पार्टीको विधानमा व्यवस्था गर्छु । एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म दुई पटकमात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्छु,’ उनले भने ।

