यी तीन विषयमा एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । आज(बुधबार) सर्वोच्च अदालत सभामुखविरुद्ध रिट निवेदन दर्ता गरेको हो ।

सभामुख अग्नि सापकोटाले कारवाही गरेका १४ एमाले सांसदहरुको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको हो । गत भदौ १० गतेको बसेको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारवाही गरेका १४ जना सांसद पदमुक्त गर्न माग गर्दै सभामुख सापकोटाले यस विषयमा गम्भीर नभएको भन्दै एमालेले अदालत जाने निर्णय गरेको थियो ।



राजनीतिक दलसम्बन्धी ऐन २०७३ को नियम ३५ को उपनियम ३४ ले सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले संसद चलेको भए सदनमा जानकारी गराउने नभए सूचना टाँस गर्ने व्यवस्था छ । प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दिएको थियो ।

त्यस्तै एमाले निर्वाचन आयोगविरुद्ध रिट निवेदन दर्ता गरेको छ । गत भदौ १० गतेको बसेको एमालेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको थियो । कारवाहीमा परेका सांसदहरुलाई समावेश गरेर निर्वाचन आयोगले सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएको भन्दै कानुनी उपचार खोज्दै अदालत जाने निर्णय गरेको हो ।

निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । निर्वाचन आयोगबाट केही विवादास्पद निर्णयहरु भएको र पार्टीले कारवाही गरेर त्यसको सूचना दिएका व्यक्तिहरुलाई समेत गणना गरेर नयाँ पार्टी गठनमा सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका गलत कामहरु भएको एमालेले जनाएको छ ।

यस्तै एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको छ । प्रदेश सभामुखले प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार