नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसद्मा विश्वासको मत लिने भएका छन् । नेकपा एमालेका १० सांसदले आज नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य स्पष्ट अल्पमतमा परेका छन् । उनले राजीनामा नदिई विश्वासको मत लिने बताएका छन् ।
दलबाट अलग भएका सांसदहरूप्रति आचार्यले उनीहरूले आफ्नो अधिकार प्रयोग गरेको जवाफ दिएका छन् । प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् । जसमा एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् ।
एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन कीर्ते मुद्दामा उच्च अदालत विराटनगरबाट दोषी ठहर भएपछि फरार छिन् । उनी निलम्बित अवस्थामा रहेकाले मताधिकार छैन तर बहुमत भने उनीसहितको संख्या ९२ मा पुष्टि गर्नुपर्ने हुन्छ । एमालेमा बाँकी रहेका ५० सांसदमध्ये सभामुखसँग निर्णायक अवस्थामा बाहेक मताधिकार हुँदैन । सोही कारण विभाजनअघि एमालेमा मताधिकार प्राप्त सांसद ४९ रहेकोमा १० जना घट्दा ३९ मा सीमित भएको छ ।
बहुमतका लागि ४७ मत चाहिन्छ । यस्तो अवस्थामा साना दुई दलको समर्थनले पनि एमालेलाई सरकार बचाउन पर्याप्त देखिँदैन ।

