नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।

अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए ।
सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गरेका छन् । त्यसमा सामाजिक सुरक्षा भत्ता भने नचलाइने निश्चित भएको छ ।
बजेटले वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुने छ । प्रत्येक चार महिनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीहरुले बढेको रकममा चार महिनाको भत्ता एकमुष्ठ पाउनेछन् ।

