नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।

बगमती प्रदेशमा एमालेको संसदीय दल बैठकले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई टिकाउनका लागि सबै पहल र प्रयास अघि बढाउने निर्णय गरेको छ । बैठकमा बोल्दै शाक्यले सरकार टिकाउन लागिपर्ने र केही दिनमा सुखद समाचार दिने दावी गरिन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शाक्यले आफू जीवनमा कहिल्यै पनि पार्टी फुटाउने पक्षमा नलागेको र अब पनि नलाग्ने बताएकी थिइन् । पार्टीलाई एकतावद्ध बनाउने क्रममा नै आफू यो जिम्मेवारीमा आएको उनको भनाइ छ ।
‘संवैधानिक प्रक्रियाअनुसार सरकार टिकाउन अनवरतरुपमा लाग्नेछौं,’ शाक्यको भनाइ उदृत गर्दै एमालेका प्रमुख सचेतक दिपक निरौलाले भने, ‘केही साथीहरु बुझाइमा कमी-कमजोरीका कारण अन्यत्र लाग्नुभएको छ, उहाँहरुसँग छलफल र संवाद अघि बढाउनेछौं ।’ पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि आफूहरुका लागि पदभन्दा पार्टी एकता ठूलो रहेको बताए ।
आजको दल बैठकले सरकारको निरन्तरताका लागि सबै दलहरुसँग छलफल गरेर संवैधानिक अधिकारहरु प्रयोग गर्दै अगाडि बढ्न सबै ढोका खुल्ला राख्ने निर्णय गरेको सचेतक निरौलाले पत्रकारलाई जानकारी दिए ।

