अधिवेशन अगावै मनाङमा कांग्रेसले टुङ्ग्यायो नेतृत्व, सभापतिमा शङ्कर गुरुङ चयन

देशैभर विभिन्न तहको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी चलिरहेको बेला विकट हिमाली जिल्ला मनाङमा भने वडा तहको महाधिवेशन अगावै नेतृत्व टुङ्गो लागिसकेको छ। मनाङ कांग्रेसले वडा तहको निर्वाचनअगावै नेतृत्व चयन गरेको छ। मनाङमा विवादरहित तवरबाट सर्वसम्मत नयाँ नेतृत्वको टुङ्गो लागिसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए।

कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शङ्कर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको छ। दुई कार्यकाल नेतृत्व सम्हालेका टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताको छलफलबाट आगामी कार्यकालको नयाँ नेतृत्व टुङ्गो लगाइएको उनले बताए।



जिल्ला सभापतिसहित मनाङ कांग्रेसले सङ्घ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्य समिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको मनाङका सभापति टेकबहादुर गुरुङले बताए। नेतृत्व छनोट गर्ने विषयमा जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर बन्ने भन्दै बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने सभापति टेकबहादुरको भनाइ छ।

देशका विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवादकै कारण उल्झनमा रहेको कांग्रेसमा मनाङ कांग्रेसले गतिलो उदाहरण बनेको छ। देशका अधिकांश जिल्लामा क्रियाशील सदस्यता, नेतृत्व दाबीलगायत विषयमा विवाद हुँदा अधिवेशनसमेत अन्योलता आएको छ।

विशेष गरी कांग्रेसभित्र गुट उपगुटको राजनीति मौलाउँदै गएकाले समस्यासमेत थपिँदै गएको कांग्रेस शुभेच्छुक बताउँछन्। कांग्रेसभित्र अधिवेशनका बेला देखिएको गुट उपगुटले स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा समेत असर गर्ने गरेको छ।

त्यसैले पार्टी बलियो हुनुको सट्टा झनै कमजोर बन्ने गरेको कांग्रेस कार्यकर्ताले स्वीकार गर्दै आएका पनि छन्। कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको छ। मनाङमा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद भएको छैन।

देशका अन्य जिल्लामा उम्मेदवार तय नहुँदै मनाङ कांग्रेसले भने दोहोर्‍याएर प्रचारप्रसार गरिसकेको उदाहरण छन्। आगामी दिनमा पनि पार्टी सङ्गठनको हित र देशका लागि स्वार्थभन्दा माथि उठेर योगदान, योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्न मनाङ कांग्रेसले देशभरका लोकतान्त्रिक विचारधाराका नेतृत्वकर्तालाई आग्रह गरेको छ।

सम्बन्धित समाचार