नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् । तर, मन्त्रिपरिषद् विस्तारबारे अझै ठोस निर्णय आउन सकेको छैन ।
गत साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ । यसअघि भएको भेटमा काँग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाले ६-६ वटा मन्त्रालय पाउने सहमति भएको बुझिएको छ । यद्यपि कुन-कुन मन्त्रालय पाउने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

