नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।

प्रतिनिधि सभाको उपसभामुख सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) पार्टीले पाउने भएको छ। उपसभामुखमा दाबी गर्दै आएको सत्तारुढ नेपाली कांग्रेसले उक्त पद एकीकृत समाजवादीका लागि छाड्न तयार भएको हो । उपसभामुखबाट शिवमाया तुम्वाहाङ्म्फेले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ। सत्ता गठबन्धनका दलहरुले मन्त्रालयमा भागबण्डा मिलाउँदा उपसभामुख पदलाई पनि सँगै मिलाउने भएका छन्। एक मन्त्री बराबर उपसभामुख पदलाई भागबण्डामा मिलाउने दलहरुको तयारी छ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत रहने व्यवस्था छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवा नै कांग्रेसको तर्फबाट प्रतिनिधित्व पनि हुने भएकाले उपसभामुख एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना बढी रहेको देउवा निकट सांसद मिन विश्वकर्माले बताए। माओवादी केन्द्रबाट सभामुख अग्नि प्रसाद सापकोटाले संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने अवस्था छ। संवैधानिक परिषद्मा एकीकृत समाजवादी तथा जनता समाजवादीको प्रतिनिधित्व हुने गरी भागबण्डा मिलाउन खोजिएको छ। एमालेबाट राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेश तिमिल्सेना पनि संवैधानिका परिषदको सदस्य छन्।
संवैधानिक परिषद्मा सबै पक्षको प्रतिनिधित्व गराउने सत्ता गठबन्धनको तयारी छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ। साथै, सभामुख र उपसभामुख फरक लिङ्गको हुनुपर्दछ। त्यसैले सभामुख पुरुष रहेकोले उपसभामुख महिला हुनुपर्नेछ । एकीकृत समाजवादीले उपसभामुखको लागि उपयुक्त पात्रको खोजी सुरु गरेको छ ।

