डब्लुएचओको क्षेत्रीय वैठक नेपालमा हुँदै, डा टेड्रोसले सम्वोधन गर्ने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एसियाको चौहत्तर सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । भदौ २१ देखि २५ सम्म आयोजना हुने सो भर्चुअल वैठकलाई डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानाम घेब्रेयेसेसले जेनेभाबाट सम्वोधन गर्ने भएका छन् ।

डब्लुएचओको दक्षिण पूर्वी एसिया कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त बैठकमा टेड्रोससहित क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंह, क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, राष्ट्रसंघीय साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधि सहभागि हुने जनाएको छ । बैठकमा विद्यमान कोभिड महामारी तथा स्वास्थ्य सर्वव्यापी पहुँच हासिल गर्नको लागि अत्यावश्यक सेवाहरुको अझ राम्रो पुननिर्माणका उपायहरुबारे छलफल हुने जनाइएको छ ।



महामारीले पैदा गरेको जोखिमलाई मध्यनजर गर्र्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिक बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुने जनाइएको छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुने भएको छ ।

सम्बन्धित समाचार