कांग्रेस महाधिवेशनमा गगन र विश्वप्रकाश आमनेसामने, दुबैजना महामन्त्रीमा भिड्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय विश्वप्रकाश शर्मा र गगन थापा १४ औं महाधिवेशनमा आमनेसामने हुने भएका छन्। थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थिए। थापा कांग्रेसमा संस्थापनइतर समूहमा छन्।

कांग्रेसमा यसपालिदेखि दुई वटा महामन्त्री प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्था गरिएको छ। मनोनित महामन्त्री हुने यसअघिको व्यवस्था विधानबाट हटाइएको छ। थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चुनाव लड्ने तयारीमा छन्। यद्यपी संस्थापनइतरबाट पौडेल वा अरू को सभापति पदको उम्मेदवार हुने भन्ने यकिन भइसकेको छैन। पौडेल आफैं पनि सभापति पदका आकांक्षी हुन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन्।



२०७२ सालमा भएको १३ औं महाधिवेशनमा थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा लडेर पराजित भएका थिए। त्यसबेला पौडेल पक्षबाट महामन्त्री पदका उम्मेदवार कोइराला विजयी भए भने देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट उठेका थापा पराजित भएका थिए।

केसी र थापा अहिले संस्थापनइतर समूह पौडेलनिकट देखिएका छन्। सभापतिमा संस्थापन पक्षबाट फेरि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा नै लड्ने तयारीमा छन्। देउवालाई लामो समयदेखि साथ दिँदै आएका उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सभापति उठ्ने दौडमा छन्। निधिले त सम्पर्क कार्यालय नै खोलिसकेका छन्।

यस्तै देउवा पक्षबाट महामन्त्रीमा लड्ने दाबेदारमध्ये एक हुन्( प्रवक्ता विश्वप्रकाश शर्मा। देउवा पक्षबाटै महामन्त्री पदमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आकांक्षी छन्। क(कसलाई महामन्त्री उठाउने चयन गर्न यसपटक सभापति देउवालाई कठिन पर्ने देखिएको छ।

संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी घोषणा गरेकोले उनीजस्तै युवा र लोकप्रिय उम्मेदवार खडा गर्न देउवालाई चुनौती छ। देउवाले महामन्त्रीमा प्रवक्ता शर्मालाई उभ्याउन सक्ने आँकलन भइरहेका छन्। शर्माले पनि आफू महामन्त्री पदमा लड्ने संकेत पहिलेदेखि गरिसकेका छन् तर अरू उम्मेदवारले जस्तो औपचारिक घोषणा भने गरिसकेका छैनन्।

सम्बन्धित समाचार