नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ । आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस घतानको विषयमा गम्भीर आपत्ति जनाएको हो ।
छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ । मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ’ , विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विज्ञप्तिमा मित्राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान गर्ने उल्लेख छ । गत शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए । विद्यार्थीले दार्चुला घटनाको विरोधमा पुत्ला दहन गरेका हुन् ।
काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा पुत्ला दहन गरेका हुन् ।
विज्ञप्ति :

