नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।

पछिल्लो राजनीतिक घटनाक्रमले सदनमा दलहरुको अवस्था तलमाथि भएको छ । फुटपछि पनि नेकपा एमाले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैमा पहिलो दल नै काय छ । तर यसअघि प्रतिनिधिसभामा चौथो दलको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) फुटपछि पाँचौ दल बनेको छ । दुई राजनीतिक दल फुटेसँगै अब प्रतिनिधि सभामा एक स्वतन्त्र सांसद सहित ९ राजनीतिक दल भएका छन् । यता राष्ट्रिय सभामा १ स्वतन्त्र सांसदसहित ६ दल अस्तित्वमा आएका छन् । सरकारले दलसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै दुई दल विभाजन हुँदा दलहरुको संख्या बढेको हो ।
प्रतिनिधिसभामा एमाले ९८ सिट, कांग्रेस ६३ सिट, माओवादी केन्द्र ४९, नेकपा एकीकृत समाजवादीका २३, जनता समाजवादीका २०, लोकतान्त्रिक समाजवादीका १४, जनमोर्चाका १, राप्रपाका १, नेमकिपाका १ र स्वतन्त्रका १ गरी २ सय ७१ सांसद रहेका रहेका छन् । प्रतिनिधि सभाका २७५ सांसद सङ्ख्या मध्ये ४ जना माओवादी केन्द्रबाट कारबाहीमा परेपछि खाली बनेको छ । नेकपा विभाजनपछि एमाले रोजेका चार सांसद्लाई माओवादीले कारवाही गरेको थियो ।
यता राष्ट्रिय सभातर्फ एमालेका २६ सांसद रहेका छन् भने माओवादी केन्द्र १५, काँग्रेसका ७, एकीकृत समाजवादीका ७, जसपाका २, लोकतान्त्रिक समाजवादीका १ र स्वतन्त्र १ गरी ५९ सांसद रहेका छन् । स्वतन्त्र रहेका सांसद खिमलाल देवकोटा माधव नेपाल पक्षमा रहेका छन् । स्वतन्त्रसहित हेर्दा राष्ट्रियसभामा माधव नेतृत्वको एकीकृत समाजवादी कांग्रेस भन्दा अगाडि देखिन्छ ।
सत्ता गठबन्धनले आफ्नो पक्षमा दुई तिहाई मत पुर्याउने कुटिल मनासायले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए पनि त्यसमा भने सफल हुन सकेन । यद्दपी यो अध्यादेशपछि दलहरुको अवस्थाले गठबन्धन सरकार स्पष्ट बहुमत जुटाउन सफल भएको छ । तर पनि पछिल्लो समय एमसीसीको कारण गठबन्धनमा तिक्तता बढेकोले प्रधानमन्त्री देउवा ढुक्क हुने अवस्थामा भने छैनन् ।।

