नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौं ।
फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको समूह ‘जे’ को खेलमा जर्मनीले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा अर्मेनिया जर्मनीसँग ६-० को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
जर्मनीको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको छैठौं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यस्तै, व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको १५ औं मिनेटमा जिनाब्रीले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । खेलको ३५ औं मिनेटमा मार्को रिउसको गोलबाट जर्मनी ३-० ले अघि रह्यो । यस्तै, खेलको ४५ औं मिनेटमा टिमो वेर्नेरले गोल गर्दै जर्मनीलाई ४-० को अग्रता दिलाए ।
त्यसैगरी खेलको ५२ औं मिनेटमा जोनास होफ्म्यान गोल गर्दै टिमको अग्रता ५-० को बनाए । त्यस्तै खेलको इन्जुरी समयमा करिम एडेएमीले गोल गर्दै जर्मनीलाई ६-० को सहज जित दिलाए । जितसँगै जर्मनी ५ खेलमा १२ अंक जोड्दै समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको छ भने १० अंक जोडेको अर्मेनिया दोस्रो स्थानमा रहेको छ ।