सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) बन्यो सबैभन्दा ठूलो दल

सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेश सभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराएसँगै प्रदेश सभामा यो पार्टी ठूलो दल बनेको हो ।

यसअघि नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य एवम् भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोेशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउदले नवगठित पार्टीका पक्षमा सनाखत गराएका थिए ।



यस्तै पूर्वराज्यमन्त्री प्रकाश रावल, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका थिए । मन्त्री सोडारी एमाले कैलालीको र पूर्वप्रमुख सचेतक तामाङ कञ्चनपुर एमालेको अध्यक्ष थिए ।

प्रदेश सभामा अब नेकपा एमाले सभामुखबाहेक १० जनामा सीमित भएको छ । यसअघि प्रदेश सभामा नेकपा एमाले २५ सदस्यसहित सबैभन्दा ठूलो दल थियो । प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् । प्रदेश सभामा विभिन्न दलका गरी जम्मा ५२ सदस्य छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् ।

सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार