नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदाै ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्। मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी विकासका लागि दिइएको अनुदान भएकाले यसमा धेरै राजनीति गर्न नहुने बताए।
उनले भने, ‘हामीले त देश विकासमा अनुदान ल्याउने हो। ऋण घटाउने हो। त्यसैले एमसिसी गर्नुपर्छ।’ बैठकमा सांसदहरूले एमसीसीका विषयमा उठेका सवाल र त्यसले पार्टीलाई पुर्याउने नोक्सानीका विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए। जवाफमा देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताए।
‘नेपालको विकासका लागि एमसीसी अहिले एकाएक आएको होइन। निश्चित कानुनी प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो। यो एउटा लोकतान्त्रिक मुलुकसँगको सम्बन्धको कुरा हो। अघिल्ला सरकारहरूले क्रमशः एमसीसीका कानुनी प्रक्रियाहरूलाई निरन्तरता दिँदै आजको यो रुपमा पुर्याएको हो,’ देउवालाई उद्धृत गर्दै सचेतक पुष्पा भुसालले भनिन्, ‘त्यसैले एमसीसीमाथि अनावश्यक राजनीति गर्न आवश्यक छैन।’ देउवाले एमसिसी पारित गर्नका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने बताए।
कतिपय सांसदहरूले एमसीसीका केही व्यवस्थाहरूलाई परिवर्तन नगरी पास गर्न नसकिने विषयमा समेत देउवाको ध्यानाकर्षण गराएका थिए । बैठकमा केही सांसदहरूले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी जारी भएको विज्ञप्तिको आलोचना गरेका थिए। सांसदहरूले एमसीसीका नाममा सरकार फस्न नहुने देउवालाई सुझाव दिएका थिए।

