नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।

नेकपा एमाले कञ्चनपुरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन उत्रिएपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समान्तर कमिटी गठन गरेको थियो।
समान्तर कमिटीका सबै पदाधिकारी एकीकृत समाजवादीमा गएका छन्। एमालेका तत्कालीन जिल्ला अध्यक्ष तारालामा तामाङको अध्यक्षतामा समानान्तरण कमिटी गठन भएको थियो। एमालेका तत्कालीन जिल्ला सल्लाहकार सन्तोस नेपालीले अध्यक्ष तामाङ, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा र उपसचिव रबिन्द्र कुँवरसहितको समान्तरण कमिटी मंगलबार एकीकृत समाजवादीमा समाहित भएको बताए। उनले समाजवादीको बैठक भदौ २५ गते बोलाइएको जानकारी दिए।
तामाङ, थापा र महरा एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन्। तीन पदाधिकारीले छाडेपछि निर्वाचित एमालेको जिल्ला कमिटीमा सचिव सुरेन्द्र विष्ट मात्रै बचेका छन्।

