नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा ११ किलो सुन घोटाला भएको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । अख्तियारमा चाँदीको जलहरीलाई हटाएर सुनको जलहरी हाल्ने क्रममा ११ किलो सुन गायब भएको उजुरी परेको थियो ।
अख्तियारले अनुसन्धानको दायरा बढाउँदै कोषका पूर्व सदस्य सचिव प्रदीप ढकाल, सदस्य सचिव मिलनकुमार थापासँग बयान लिएको छ । सुनको जलहरीमा तामा मिसाई ११ किलो सुन गायब बनाइएको आरोप कोषलाई लागेको छ । त्यसकै आधारमा आयोगले कोषका पदाधिकारीहरूको बयान लिएको छ ।
१०८ किलोको सुन जलहरीमा लगाइएको भनिएकोमा ९७ किलो सुनमात्रै प्रयोग भएको दाबी गरिएको छ । पशुपतिको शिवलिंगमा सुनको जलहरी राख्न नहुने भन्दै लामो समय विवाद भएको थियो । पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जलहरी राख्ने काम अघि बढेको थियो ।
१०८ किलोको सुनको जलहरी हाल्ने भनिएपनि ९७ किलोमात्र लगाएर बाँकी सुन गायब बनाइएको उजुरीका आधारमा अनुसन्धानमा सक्रियता देखाएको आयोगले जनाएको छ ।

