बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

५ मन्त्री र ४ राज्यमन्त्री थपिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । मुख्यमन्त्री शाक्यले आज मध्याह्न १२ बजे मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेकी हुन् ।

सरकारको नेतृत्व लिएको २१ दिनपछि शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन् । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा परेकी छिन् । अन्तिम समयमा माधव कुमार नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी हुन् ।



नेता नेपालले उनलाई आफ्नो पक्षमा आएको खण्डमा आफूले मुख्यमन्त्रीमा टिकाउन सहयोग गर्ने बताएका थिए । तर, शाक्यले सत्ताका लागि एमाले नछाड्ने बताएकी छन् । एकीकृत समाजवादीले समर्थन नगर्ने भएपछि विश्वासको मत नपाउने निश्चित भएकोले शाक्यले त्यसअघि नै पदबाट राजीनामा दिने चर्चा पनि चलेको थियो ।

मुख्यमन्त्री नियुक्त भएसँगै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । दुई जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् ।

सम्बन्धित समाचार