बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कसले पाए कुन मन्त्रालय ?

६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्री शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

सरकारको नेतृत्व लिएको २१ दिनपछि शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी अजय क्रान्ति शाक्यलाई दिइएको छ । त्यस्तै, रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो ।



त्यस्तै प्रदीपकुमार कटुवाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी शान्तिप्रसाद पौडेललाई दिइएको छ ।

मुख्यमन्त्री शाक्यले ४ राज्यमन्त्री नियुक्त गरेकी छिन् । जसमा जुनेलीमाया श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री, जीवन खड्का भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री, सरस्वती वाटी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले बुधबारै सपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तारसँगै बागमती प्रदेशमा १२ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । यसअघि मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् ।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा परेकी छिन् । अन्तिम समयमा माधव कुमार नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी हुन् । नेता नेपालले उनलाई आफ्नो पक्षमा आएको खण्डमा आफूले मुख्यमन्त्रीमा टिकाउन सहयोग गर्ने बताएका थिए । तर, शाक्यले सत्ताका लागि एमाले नछाड्ने बताएकी छन् । एकीकृत समाजवादीले समर्थन नगर्ने भएपछि विश्वासको मत नपाउने निश्चित भएकोले शाक्यले त्यसअघि नै पदबाट राजीनामा दिने चर्चा पनि चलेको थियो ।

मुख्यमन्त्री नियुक्त भएसँगै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । दुई जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् ।

सम्बन्धित समाचार