नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन् ।
हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् । उनले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिएकी छिन् ।
‘सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ’, उनले सन्देशमा भनेकी छिन् , ‘विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ ।’
राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छिन् । उनले कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छिन् ।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि हरितालिका तीजको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गरेका छन् । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरे ।

