नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदाै ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नामावली मागेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको सूची तयार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गर्ने भएपछि पहिलो चरणमा दुई जनाको नाम यादवले बुझाएका छन् । दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन्। पहिलो चरणमा महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको बताइन्छ ।
यसैगरी यादवले दोस्रो चरणमा प्रमोद साहको नाम समावेश गरेका छन् । साह सुरुमै कित्ता परिवर्तन गरी महन्थ ठाकुरबाट उपेन्द्र यादवतिर उभिएका हुन्। यसैगरी यादवले पर्साका सांसद प्रदीप यादव, लुम्बिनी प्रदेशबाट अमृता अग्रहरीलाई सिफारिस गर्ने भएका छन्।
देउवाले उपप्रधानमन्त्री दिएको खण्डमा अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना छ । उपप्रधानमन्त्री नपाएमा राजेन्द्र श्रेष्ठले नै सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइने भएको छ ।

