ओलीले दिए सांसदलाई यस्तो निर्देशन

सभामुखलाई माइक हान्ने योजना थिएन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न एमाले सांसदलाई आग्रह गरेका छन् । आज (आइतबार) बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले सांसदलाई यस्तो निर्देशन दिएका हुन् ।

एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप लगाउदै ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध गर्न आग्रह गरेका हुन् । ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस्, अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस् ।’ त्यस्तै ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको योजना नभएको दावी गरे । गत शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् ।



‘माइकले हान्ने पार्टीको कुनै पनि योजना थिएन, काँध चढेर मर्यादापालकको घेरा तोड्न खोजेजस्तो देखियो, त्यस्तो होइन, हामी मर्यादापालकको घेरा तोडेर जान चाहदैनौँ’, उनले भने, ‘मर्यादा पालकले पनि हामीलाई स्थान दिनुपर्छ, ठाउँ नहुँदा तनावको स्थिति सिर्जना हुन्छ ।’ ओलीले सीमाभित्र रहेर मर्यादापालक परिचालन गर्न सत्तापक्षलाई आग्रह गर्दै आफूहरु धेरै वादविवादमा जान नचाहेको उल्लेख गरे ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ। गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

 

सम्बन्धित समाचार