नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदाै ।

नेकपा एमालेमा विभाजन आउने निश्चित भएपछि अध्यक्ष केपी ओली एकाएक नरम भएर १० बुँदे सहमति कार्यन्वयन गर्ने र पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा लैजान तयार भए । ओली नरम हुनुको मुख्य उद्देश्य थियो माधव नेपालले दर्ता गरेको पार्टी नेकपा– एकीकृत समाजवादीमा जान लागेका नेतालाई रोक्नु । तर माधव नेपालनीकटका २ जना स्थायी कमिटी सदस्यबाहेक अधिकांश ओलीको बोलीमा लोभिए । प्रतिगमन सच्चिएको भन्दै एमाले विभाजनको विपक्षमा अभिए र मध्यमार्गी समूहको रूपमा ओलीसँग थप बागर्नेनिङ गर्न थाले । ओलीले पनि उनीहरूलाई हुँदो नहुँदो आश्वासन दिए । अल्पमतमा पर्ने निश्चित भएका आफुनिकट २ मुख्यमन्त्रीलाई राजीनामा दिन लगाएर मध्यमार्गी भएको समूहबाट महेश पाण्डे र अष्टलक्षी शाक्यलाई मुख्यमन्त्री बनाए । माधव नेपालको पार्टीमा जाने बाटो छेक्न ओली हदैसम्मको लचक देखिए ।
तर अब निर्वाचन आयोगले माधव नेपालको पार्टी छान्न संसद् तथा जनप्रतिनिधिलाई दिएको समय सकिएको छ । यससँगै मध्यमार्गी समूहलाई ओलीले पेल्न शुरू गरेका छन् । अघिल्लो हप्तासम्म जेठ २ मा फर्किन सम्भव नरहेको बताउँदै आएका ओली पछिल्लो समय १० बुदेँ सहमतिबाट पनि पछि हटेका छन् । योगेश भट्टराईलाई प्रवक्ताको जिम्मेबारी नदिनुदेखि पार्टी उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिमको इन्चार्ज नदिएर ओलीले आफू पूर्ववत् सहमतिबाट पछि हटेको संकेत दिइसकेका छन् । ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएपछि रावलले आफू पार्टी अध्यक्षबाट अन्यायमा परेको भन्दै आफूनिकटकासँग परामर्श गरेका छन् ।
आफू अन्यायमा परेको भन्दै बालकोटमा पुगेका रावललाई लफडा नगर्न भन्दै ओलीले फर्काइदिएका थिए । सुदूरपश्चिमको एमाले इन्चार्ज लेखराज नै रहने र जेठ २ हुबहु लागु नहुने बताएपछि रावलसहित मध्यमार्गी समूहका नेताहरू थप रणनीतिमा जूटेका छन् । ओलीले आफूहरूलाई नयाँ पार्टीमा जानबाट रोक्न मात्र लचक भए पनि उनी कहिल्यै नसुध्रने र आफूहरूलाई पार्टी जिम्मेबारीबाट पथ पाखा लगाउने निष्कर्ष निकालेका छन् । यसबीचमा पटक पटक सशरीर र जुममार्फत बैठक गरिरहेका उनीहरू पुनः २० प्रतिशत पुर्याएर एमाले फुटाउने हैसियत बनाउनेसम्मको गृहकार्य गर्ने सहमति गरेको स्रोतको दाबी छ ।
यसअघि संस्थापन पक्षले दसबुँदे कार्यान्वयनमा आलटाल गरेको भन्दै घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत १० जनाले गत शुक्रबार भर्चुअल छलफल समेत गरेका थिए । बैठकले पछिल्ला केही घटनाक्रम र कार्यक्रमले दसबुँदे कार्यान्वयन नभएको र ओली समूह पार्टीलाई जेठ २ मा फर्काउने विषयमा पनि इमान्दारिता नदेखिएको निष्कर्ष निकालेको थियो ।
टुटफुटपछि प्रतिनिधिसभामा एमालेका ९८ सिट छ । मध्यमार्गी समूहलाई अब एमालेलाई फुटाउन २० सांसद् नै अवश्यक पर्छ । पछिल्लो समय ओली समूहकै केही नेताहरू पनि माधव नेपाल नेतृत्वमा जान चाहेकोले पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको पार्टीमा समाहत हुने शर्तमा २० प्रतिशत पुर्याउन सकिने निष्कर्ष मध्यमार्गी समूहले निकालेको छ । यो अवस्थामा पार्टी फुटाउन सत्ता गठबन्धबाट पनि सहयोग पाउने अपेक्षा मध्यमार्गी समूहले गरेको छ ।।

