नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज आज(सोमबार) बाट सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज अमेरिकाको सामना गर्न लागेको हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे अमेरिकासँग खेल्दैछ । सिरिज अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको थियो । जसमा नेपाले सिरिज २-० ले आफ्नो पक्षमा पारेको थियो । विश्वकप लिग–२ मा नेपाल रहेका समूहमा पपु्वा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल चार खेलमा दुई जित र दुई खेलमा हारका साथ चार अङ्क जोड्दै छैटौँ स्थानमा छ ।
यस्तै ओमान १० खेलमध्ये आठमा जीत र दुईएमा हार बेहोर्दै १६ अङ्कसहित शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चौथों स्थानमा छ ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अङ्कबिहीन बन्दै लिग–२ को पुछारमा रहेको छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।