सर्वदलीय बैठक सुरु, को-को उपस्थित भए ?

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेबाट बैठक सुरु भएको हो । सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र ) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।



त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रतिनिधि भने बैठकमा सहभागी छैनन् । संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ । आइतबार पनि संसद् बैठक दुई पटक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भएको छ । अवरोध हटाउन सभामुख सापकोटाले आइतबार प्रतिपक्षी दलका मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै आएको छ ।

सम्बन्धित समाचार