एमालेको विरोधकाबीच लोकसेवा विधेयक पारित

राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ ।



राष्ट्रियसभाको आजको दोस्रो बैठकमा पनि एमालेका सांसदको अवरोध कायमै रहेको थियो । बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरुले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद कोमल वलीलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

सांसद वलीले सभामुखले सांसद पदको दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेकै अवस्थामा सदनको काम कारवाही अघि बढ्न नसक्ने बताए । सभाअध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभामा उठेका विषयलाई लिएर राष्ट्रियसभामा अवरोध गर्नु उचित नभएको बताउँदै सदनको औचित्य र गरिमालाई कायम राख्न सांसदलाई आग्रह गरे।

त्यस्तै, आजको बैठकले सभाका पूर्वसदस्य रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । बैठकमा स्व राणाप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

राणा विसं २०४८ को राष्ट्रियसभामा मनोनीत सदस्य रहेका थिए । पूर्वराजदूतसमेत रहेका राणाको ८६ वर्षको उमेरमा यही भदौ २६ गते शनिबार निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बिहान ११ बजे पुनः बस्नेछ ।

सम्बन्धित समाचार