नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।

प्रतिनिधिसभाको बैठक असोज ४ गते ११ बजेसम्मका लागि स्थगित भएको छ । आज (मंगलबार) पनि बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो ।
बैठकले विनियोजन विधेयक २०७८ पारित गरेपनि संशोधनसहित बजेट पारित नगरी बैठक स्थगित भएको हो । अर्थमन्त्री शर्माले सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए । गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
त्यस्तै बैठकले भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुखले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

