नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदाै ।

लुम्बिनी प्रदेश सभाकी सदस्य विमला खत्री ओलीले पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलिवरुद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दिएकी छन्। ओलीले इलाका प्रहरी कार्यालय बुटवलमा पोखरेलसहित ४ जनाविरुद्ध उजुरी दिएकी हुन्। तर, क्षेत्राधिकारका कारण उजुरी भने दर्ता नभएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी आएको पुष्टि गरे। तर, उजुरीमा दाबी गरिएको कसूरको सुरुवाती बिन्दू दाङ देखिएकाले जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता गर्नुपर्ने भनेर फिर्ता गरिएको एसपी केसीको भनाइ छ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले सांसद ओलीले पूर्व मुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा उजुरी दिएको जानकारी दिए। तर, दर्ता भएरनभएको विषयमा भने आफूलाई जानकारी नभएको उनको भनाइ छ।
दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित उत्तरकुमार ओली सवारी दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती विमला उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन्। विमला तत्कालीन नेकपाबाट सूर्य चुनाव चिह्नबाट निर्वाचित भएकी हुन्। सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले माओवादी केन्द्र रोजेकी थिइन्।
गत साउनमा मुख्यमन्त्री पोखरेल अल्पमतमा परेपछि फेरि एमालेमै फर्किएको भन्दै विमलाको नाममा विज्ञप्ति जारी भएको थियो। विज्ञप्ति जारी भएको केही दिनपछि उनले आफूलाई अपहरण गरी मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइ जबरजस्ती आफ्नो हस्ताक्षर कीर्ते गरेर एमालेमै रहेको भन्ने व्यहोराको विज्ञप्ति जारी गरिएको बताएकी थिइन्।

